Success Stories
लघुवित्तले आँट र साहस भएकाहरुलाई बिनाधितो ऋण दिएर व्यवसाय गर्न प्रेरित गर्छ : सिईओ तिमील्सिना
काठमाडाैँ । नेपाल राष्ट्र बैकले वित्तिय संस्थाहरुलाई क,ख,ग र घ बर्गमा बिभाजित गरि वित्तीय कारोबार गर्न इजाजत दिदै आएको छ , क बर्गमा बाणिज्य बैकहरु, ख बर्गमा विकास बैकहरु ग बर्गमा फाइनान्स हरु पर्छन भने घ वर्गमा पर्ने बित्तिय संस्थाहरु हुन् लघुवित्त । लघुवित्तहरु गाउँगाउँमा गएर बचतको पाठ मात्र सिकाउँदैनन्, केही गर्न सक्छु भन्ने आँट र साहस भएकाहरुलाई धितो वा बिनाधितो ऋण दिएर देश विकासमा इट्टा थप्ने काम गरिरहेका छन् । अर्कोतिर तिनीहरुको सहयोगले विदेश पलायन हुन लागेको जनशक्तिले पनि देशमै केही गर्न सकिन्छ भनेर सम्भावनाको खोजीसमेत गरिरहेका प्रशस्त उदाहरणहरु छन् । बिभिन्न उदेश्यले नेपालभर स्थापना भएका लघुवित्त वित्तीय संस्थाको भीडमा पर्छ सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड । हालसालै मात्र प्रदेशस्तरीय कारोबार गर्नको लागि स्वीकृति पाएपछि केन्द्रीय कार्यालय सुनसरीको इटहरी—४ मा स्थापना गरि प्रदेश १ का विभिन्न ठाउँमा विस्तार हुदै गरेको सपोर्ट लघुवित्त र समग्र लघुवित्तका बिषयमा सर्पोट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कुलमणी तिमिल्सीनका विचारहरु प्रस्तुत गरेका छौँ । माईक्रोफाइनान्स एसोसिएसन अफ नेपालको सहकार्यमा तयार पारिएको सम्पादित अंश :
लघुवित्त अर्थात माइक्रोफाइनान्स कस्तो प्रकारको वित्तीय संस्था हो ?
शहरका कुनाहरु तथा हिमाल, पहाड र तराइका विकट ग्रामिण भेगमा रहेका तथा बैंकिङ्गको पँहुचबाहिर रहेका व्यक्तिहरु, धितो राख्न नसकेर बैंकबाट ऋण लिन नसकेका तथा कागजातहरु जुटाउन नसक्नेहरुका लागि सीमित कागजपत्रबाटै कर्जा लिएर व्यवसाय गर्न घरदैलोमै पुगेर वित्तीय सेवा दिने सँस्था नै लघुवित्त सँस्था हो । लघुवित्तले सकेसम्म धितो नभएका वर्गहरुलाई लक्षित गर्छ र बिनाधितो सहज प्रक्रियाबाट निश्चित ब्याजमा ऋण दिएर स्वरोजगार बन्न प्रेरित गरिरहन्छ । लघुवित्त सँस्थाहरु कम आय भएका, पिछडिएका, पूँजीको स्रोत नभएका व्यक्तिहरुको समुदायमा गएर सात दिनसम्म वित्तीय साक्षरता तालिम सञ्चालन गरी समूह गठन गर्दछ र वित्तीय कारोबारको सुरुवात गर्दछ ।
यसरी तालिम सञ्चालन गर्दा, सामाजिक, साँस्कृतिक कुरिती हटाउनेदेखि बचत गर्ने परिपाटीको विकास गर्ने, कर्जा कारोबार गर्ने, फजुल खर्च कटौति गर्ने, आयमूलक कार्यमा सरिक हुने, बालबच्चालाई सफासुग्घर राख्ने तथा अनिवार्य विद्यालय पठाउने, आफ्नो नाम लेख्न नसक्नेहरुलाई नाम लेख्न सिकाउनेजस्ता कुराहरुलाई बढी जोड दिइन्छ । बचत गर्ने परिपाटीको विकास गर्नका साथै खेतिपाति गर्न अथवा व्यवसाय गर्ने चाहना भएकाहरुलाई सुरुवाति पूँजी नै दिन सक्छौँ । लघुवित्तहरुले यसरी घरदैलोमै वित्तीय पहुँच पु्याउने भएकाले लागत बढी पर्ने हुन्छ । तथापि हामीले नेपाल राष्ट्र बैंकले तोकेकै ब्याजमा सहज कर्जा उपलव्ध गराउँदै आएका छौं ।
सपोर्ट लघुवित्त के हो र यसको अहिलेको अवस्था कस्तो छ ?
सपोर्ट लघुवित्त गरीब तथा निमुखा वर्गलाई टेवा दिन पूँजीको अभावमा कसैले पनि केही गर्ने चाहनालाई मार्नु नपरोस्, पूँजीकै अभावमा थातथलो छाडेर स्वदेश वा विदेश पलायन हुन नपरोस् भनेर स्थापना भएको वित्तीय सँस्था हो । सपोर्ट २०७१ साल कार्तिक २७ गते स्थापना भएर २०७२ साल असारबाट नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत पाएको कम्पनी हो । सपोर्टको चुक्ता पूँजी ६ करोड ६० लाख छ । हाल यस सँस्थाको प्रदेश नम्बर १ का ८ जिल्लामा २४ वटा शाखा कार्यालयहरु रहेका छन् । कोरोना महामारीका बावजुद हामिले समुदायमा राम्रो सम्बन्ध स्थापना गर्न सफल भएका छौँ । हाम्रो खराब कर्जाको सूचकाङ्क असोज मसान्त सम्मको अवस्था हेर्ने हो भने ४ प्रतिशतको हाराहारीमा रहेको छ । यस सँस्थाले इच्छाशक्ति भएका जोकोहीलाई धितो वा विनाधितो आर्थिक चालचलन हेरेर वित्तीय सहयोग (कर्जा) प्रदान गर्छ र गरिरहेको छ ।
सानो कमाइ गरिरहेका समुदायमा बचत गर्नुपर्छ भन्ने भावनाको विकास गर्न कत्तिको सहज छ र यसमा तपाईँहरु के गर्दै हुनुहुन्छ ?
वित्तीय सचेतना निरन्तर फैलाइरहेपनि बचत त्यति धेरै बढेको पाइँदैन । एकातिर कम आय भएको समूहमा काम गर्नुपर्दा, उहाँहरुको आम्दानीको स्रोत थोरै र खर्चका स्रोतहरु धेरै भएकाले बचत बढ्न सकेको देखिँदैन । आजभोलि लघुवित्तका अलावा गाँउघरमै पनि सहकारी सँस्था लगायतका वित्तीय सँस्थाहरु रहेकोले पनि बचत बाँडिन्छ । हामीले त झनै गाउँगाउँमा गएर समूह निमार्ण गरेरै बचत गर्नुपर्छ भन्ने चेतना फैलाइरहेका हुन्छौँ । सपोर्टले पनि समूह बचत, व्यक्तिगत बचत, केन्द्रकोष बचत, भविष्य बचत, पेवा बचत, सपोर्ट स्पेसल बचत तथा बालशिक्षा बचतजस्ता कार्यक्रम ल्याएको छ । यी बचतका कार्यक्रममा हामीले अधिकतम १० प्रतिशतसम्म ब्याज दिन्छौँ ।
लघुवित्तहरुको कर्जा बिनाधितो बढी जाने रहेछ । यसले खराब कर्जा बढ्दैन ?
हामीले त राष्ट्र बैंकले दिएको निर्देशनानुसार कार्य गर्ने हो । कुल कर्जाको बढीमा ३३ प्रतिशत धितो कर्जा र बाँकी बिनाधितो कर्जा प्रवाह गर्नू भन्ने निर्देशन रहेको छ । त्यसैले पनि बढी कर्जा जाने भनेको धितो राख्न नसक्ने समुदायमै हो । जोखिम हरेक पेसामा नै हुन्छ । सरकार तथा नियामक निकायको निर्देशनबमोजिम विपन्न वर्गका व्यक्तिलाई माथि उठाउने काममा हामी लागी नै रहेका छौँ । हामीले कर्जा दिँदा जोखिम व्यवस्थापनको लागि जोखिम व्यहोर्ने कोष खडा गरिएको हुन्छ । तथापि कर्जा लगानी गर्दा अत्यन्तै चनाखो भएर मात्र कर्जा लगानी गरिन्छ । कर्जा माग गर्ने व्यक्तिको आर्थिक अवस्था तथा सामाजिक चालचलन हेरेर मात्र कर्जा प्रवाह गरिन्छ ।
कर्जा सूचना केन्द्रसँगको सहकार्यमा हरेक ऋणीको कर्जा सूचना लिइन्छ । उक्त विवरणमा निजको अन्य वित्तीय सँस्थाहरुसँग कर्जा कारोबार रहे÷नरेहको, कर्जा रहे कस्तो अवस्थामा रहेको भन्ने विश्लेषण गरिन्छ । उता समूहमार्फत् निजको चालचलनको मूल्याङ्कंन गरेर मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । कर्जा सूचना केन्द्रले देशभरिकै सबै वित्तीय सँस्थाहरुमा कहाँबाट कसले कति ऋण लिएको छ भन्ने कुराको जानकारी राख्ने गर्छ । हामीले पनि ऋण स्वीकृत गर्नुअघि अनिवार्य रुपमा कर्जा सूचना केन्द्रबाट आफ्नो ग्राहकको वित्तीय चालचलन बुझ्नुपर्ने हुन्छ । त्यसले अहिले ग्राहकको चेतना पनि बढेको छ । अहिले सँस्थाको सबै शाखा कार्यालयले आफ्नो कार्यालयको कोड हालेर सजिलै कर्जा सूचना केन्द्रको विवरण हेर्न र लिन सक्छन् । यद्यपि कहिले प्राकृतिक प्रकोपको कारण त कहिले परिस्थितिजन्य कारणले तोकिएको समयमा कर्जा तिर्न नसकेपनि सबैले कर्जा तिरिरहनुभएको छ । हामी खराब कर्जामा खास धेरैै नराम्रो अवस्थामा छैनौँ ।
क, ख, र ग वर्गका बैंक तथा वित्तीय सँस्थाले ब्याजदर बढाइरहेका छन् यसले तपाईँहरुलाई के असर गर्छ ?
वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले निक्षेपको ब्याज बढाउँदा हामीलाई त्यसको प्रत्यक्ष असर पर्दछ । स्वभाविक रुपमा उहाँहरुले महङ्गो निक्षेप उठाएपछि, स्रोतको लागत महङ्गो पर्ने गर्दछ । त्यस्ता सँस्थाहरुसँग कर्जा लिँदा महँगो ब्याज लिन्छन् । हामीले कर्जा लिने भनेको तिनै बैंकहरुबाट हो । फेरि हामीलाई नेपाल राष्ट्र बैंकले ब्याजदरमा माथिल्लो सिलिङ्ग तोकिदिएको छ । हाम्रो पूँजीको स्रोतको लागत बढ्यो भनेर हामीले हाम्रा ग्राहकसँग बढी ब्याज लिन पाउँदैनाँै । त्यसले गर्दा अन्य बैंक तथा वित्तीय सँस्थामा ब्याज बढ्दा बजारसँगै हामी पनि मारमा पर्दछौँ । अन्य बैंक तथा वित्तीय सँस्थाभन्दा विपन्न समुदायमा लघुवित्तहरु जान्छन् ।
वित्तीय साक्षरतालाई हेर्दा अहिलेको अवस्था कस्तो छ ?
वित्तीय साक्षरता कम छ तर अहिले बैंक तथा वित्तीय सँस्थाको पहुँच भने राम्रो रहेको छ । सरदर ६० प्रतिशत जनता वित्तीय पहँुचमा छन् । तर पहुँचको सही प्रयोग भने भएको पाइँदैन । आम मानिसको शैक्षिक अवस्था, पारिवारिक कारण तथा वित्तीय साक्षरताको कमीका कारण वित्तीय पहुँच अझैसम्म पुग्न सकेको पाइँदैन । प्रत्येक परिवारको आय र शैक्षिक, वित्तीय साक्षरताको अवस्थाका कारण मानिसहरुबीच कर्जा सदुपयोग तथा परिचालन गर्ने क्षमता फरक हुन्छ । हाम्रो समुदायमा सबैले समानस्तरमा कर्जा पाउनुपर्छ भन्ने धारणा छ । अर्कोले कुन प्रोजेक्टमा कुन उद्देश्यले कर्जा लियो भन्ने नबुझी उसले यति पायो मैले पनि त्यत्ति पाउनुपर्छ भन्ने खालको बुझाइ रहेको हामीले पाएका छौँ । यसले जोखिमको सम्भावना बढाउँछ । प्रत्येक परिवारको आम्दानीको स्तर, आयमूलक काममा संलग्न परिवारका मानिसको संख्या, शैक्षिक तथा वित्तीय चेतनाको स्तर, पारिवारिक खर्च आदिलाई मध्यनजर गरी मात्र कर्जा लिने र दिने गर्नुपर्दछ ।
कोभिडले लघुवित्तलाई ठ्याक्कै कस्तो असर पार्यो ?
कोभिडले देशव्यापी मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत असर पारेको छ । यसबाट हामी अछुतो रहने भन्ने कुरै भएन । कोभिडकै कारण अहिले १ प्रतिशत हाराहारीमा रहनुपर्ने खराब कर्जा ४ प्रतिशत हाराहारीमा आएर बसेको छ । कोभिडका कारण रोजगारी गुम्यो, साना व्यावसायीको व्यवसाय लामो समय बन्द रह्यो । जसले गर्दा आम्दानी गुम्यो, कर्जा लिएर खेतिकिसानी गर्ने वा सञ्चित पूँजी लगानी गरेर उत्पादन गर्नेले उत्पादनलाई बेच्ने बजार पाएनन भने त्यता पनि ठूलो असर पयो । जसले गर्दा कोरोनाको मार लघुवित्तमा बढी देखिन्छ ।
तथापि लघुवित्त सँस्थाहरुले ग्राहकको आर्थिक अवस्था खुम्चिएको महसुस गरेर केही सहुलियतहरु प्रदान गरेको छ । ने.रा.बैंकको निर्देशनअनुसार कर्जाको किस्ता तिर्ने म्याद थपिएको छ । लकडाउनका समयको पाकेको ब्याजमा १० प्रतिशत छुट उपलब्ध गराएको छ । गत वर्षको लकडाउनअघि रहेको १८ प्रतिशतको हाराहारीको व्याजदर १५ प्रतिशतमा आएको छ । साविकमा सीमित व्यक्ति र बैंकका सीमित शाखामा मात्र रहेको पुनःकर्जाको सुविधा अहिले फराकिलो भएको छ ।
सानो पूँजीमा खेल्ने लघुवित्तप्रति शेयर बजारमा निकै ठूलो आकर्षण किन भएको ?
शेयर बजार छुट्टै नियमअनुसार अरुले नै चलाएको हुन्छ । त्यसमा हाम्रो कुनै सम्बन्ध तथा भूमिका हुदैन । बजारमा लघुवित्तको शेयर सीमित भएकाले माग अनुसार आपूर्ति हुन नसक्दा शेयरको मूल्य बढको हो । गत आर्थिक वर्षमा क, ख र ग वर्गका बैंकहरुको लगानीका अवसरहरु खुम्चिँदा, अत्याधिक तरलता भएका कारण आधार दरभन्दा पनि तल झरेर लघुवित्तहरुलाई क, ख र ग वर्गका वित्तीय सँस्थाहरुले लगानी गरे ।
जसले गर्दा लघुवित्तहरुको ब्याज खर्चमा केही बचत हुन गयो र शेयरधनीलाई मुनाफा बाँड्न सक्ने अवस्था देखियो । अहिले करिब ३ वर्षदेखि नेपाल राष्ट्र बैंकले लघुवित्त सँस्थाहरुलाई हकप्रद शेयर निष्कासन गरी पूँजी वृद्धि गर्न नदिएको अवस्था छ, तसर्थ मागअनुसार लघुवित्त शेयर बजारमा आपूर्ति छैन । मागअनुसार आपूर्ति कम हुँदा, गत वर्ष सञ्चालन नाफा तथा ब्याज खर्चमा बचत हुँदा नाफा देखिएको र शेयर मूल्य बढेको हो भन्ने लाग्दछ ।
सपोर्ट लघुवित्तको प्रतिस्पर्धि को हो ?
प्रायःजसोले आफ्नो प्रतिस्पर्धी आफै हो भन्ने पनि गरेका छन् । तर सपोर्टकै कुरा गर्ने हो भने अन्य लघुवित्त सँस्था तथा क, ख र ग वर्गका वित्तीय सँस्थाहरुले समेत स–साना कर्जा वितरण गर्ने गरेकोले हाल आएर क, ख र ग वर्गका वित्तीय सँस्थासमेत प्रतिस्पर्धी सँस्थाका रुपमा देखिएका छन् । प्रारम्भिक अवस्थामा लघुवित्त सँस्थामा आबद्ध भई कर्जा कारोबार गरेर व्यवसायी बनेका धेरै मानिसहरु पनि आफ्नो व्यवसाय वृद्धि भएसँगै नयाँ कर्जा लिन वाणिज्य बैंकतिर जाने गर्दछन् । यसको मुख्य दुई कारणहरु छन् । पहिलो लघुवित्त सँस्थाको तुलनामा ठूला बैंक तथा वित्तीय सँस्थाको ब्याजदर कम हुनु, अर्को ग्राहकले माग गरेअनुसार लघुवित्त सँस्थाले ठूलो कर्जा उपलब्ध गराउन नसक्नु ।
लघुवित्त वित्त वित्तीय सँस्थाहरुका चुनौतिचाहिँ के–के हुन् त ?
हामीलाई केन्द्रीय बैकले १५ प्रतिशतभन्दा माथि नजानू भनेर ब्याजको माथिल्लो सिलिङ्ग तोकिदिएको छ । बैंक तथा वित्तीय सँस्थामा निक्षेपको ब्याज वृद्धि भई कर्जाको ब्याज बढ्दा पनि हामी यथास्थितिमा नै रहनुपर्छ र रहिरहेका पनि छौँ । हाम्रो पूँजीको लागत बढेता पनि कर्जाको ब्याजदर बढाउन नपाउँदा मारमा छौँ । त्यो एउटा चुनौति नै भयो । अर्को कुरा बैंक तथा वित्तीय सँस्था धेरै हुँदा चौतर्फी प्रतिस्पर्धा छ । प्राकृतिक प्रकोपको प्रभावले पनि चुनौति थपिरहेको छ । प्रतिस्पर्धामा उत्रिन सबै कुरालाई प्रविधिमैत्री बनाउदै लानुपर्यो । त्यो पनि चुनौतिकै रुपमा रहेका छन् ।
मर्जरका लागि तपाईँहरुको राय वा उद्देय के छ ?
हाल लघुवित्त वित्तीय सँस्थाकोे संख्या घटेको छ । कुनै बेला ९५ सम्म पुगेको संख्या अहिले ६९ मा आएको छ । एउटै कार्यक्षेत्रमा धेरै सँस्थाले काम गर्नुपर्दा नयाँ ग्राहक सदस्य भेट्न मुस्किल छ । मर्जर र पूँजी वृद्धिसम्बन्धी एकीकृत स्किम आए लघुवित्त सँस्थाको संख्या अझै घट्ने थियो । सपोर्टको कुरा गर्ने हो भने राष्ट्रियस्तरमा स्तरोन्नति हुन तत्काल हकप्रद शेयर जारी गर्न नपाँउदा पूँजी पुग्ने सम्भावना नभएर हामी भर्खरै (२०७८ जेष्ठ बाट) प्रदेशस्तरीय सँस्थामा रुपान्तरण भएका छौँ ।
हामी प्रदेशस्तरमा कार्यक्षेत्र विस्तार गर्न लागिपरेका छौँ । हकप्रदमार्फत् पूँजी वृद्धि गर्न अहिले केन्द्रीय बैंकले नदिएको अवस्था छ । साधारणसभाबाट २ पटक हकप्रद शेयर दिने प्रस्ताव पारित गर्दा पनि केन्द्रीय बैंकले अस्वीकृत गरेको अवस्था छ । अब हामी पर्ख र हेरको अवस्थामा छौँ । केन्द्रीय बैँकले जे नीति ल्याउँछ, हामी त्यसैअनुसार अघि बढछौँ । तत्काल कतै मर्ज भइहाल्ने गरी कुनै प्रस्ताव आएको छैन । समयले के गर्छ हेर्दै जाऔँ ।